Flash

बिहिबार, अशोज २५, २०७५

काठमाडौं । नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन्। यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके। पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन्। गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे। मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए।

उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइएको थियो। मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे। मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए। ‘कहीँकतै छलफल नभई एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं’, स्थायी समितिका ओलीनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्याे।’

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लिइसकेको छैन। गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ। संगठनका लागि हामी दुवै जना सिपाही हो। भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपार्इंले गरेको त्यागप्रति उँचो राख्न र तपार्इंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

सचिवालयभित्र अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल गौतमलाई उपचुनावमार्फत सांसद बनाउने पक्षमा छन्। दाहाल गौतमलाई नचिढाउन मात्रै उनको पक्षमा उभिएको स्रोत बताउँछ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता ईश्वर पोखरेल भने विपक्षमा छन्। पोखरेलले सामाजिक सञ्जालमै सांकेतिक विरोध जनाएका छन्। श्रेष्ठ भने बोलिसकेका छैनन्। रामबहादुर थापा पक्ष/विपक्ष नदेखिने मनस्थितिमा छन्। वरिष्ठ नेता माधव नेपाल पार्टीले निर्णय गरे गौतमलाई असहयोग गर्ने पक्षमा छैनन्। वरिष्ठ नेता झलनाथ खनाल केही बोलेका छैनन्। मानन्धरको स्वीकृतिपत्र ‘सरप्राइज’का रूपमा आएको भन्दै नेकपाभित्रको पूर्वएमाले समूह सशंकित देखिएको छ। अन्नपूर्णपोष्टबाट

Published date : 2018-10-11

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com